कष्टमय र अन्धकारमा रुमलिएको सुस्ता बस्ती


बिनोद मण्डल
नवलपरासी । नेपाल दुई ढुङ्गा बीचको तरुल हो । जसको उत्तरमा चीन र बाँकी सबै भागमा भारत रहेको सबैलाई विदितै छ । नेपाल विगत लामो समयदेखि सीमा विवादमा अल्झिएको देश हो । यसको करिब ७१ ठाउँमा सीमा विवाद रहेको पाइन्छ । कालापानी पछिको दोश्रो विवादित क्षेत्रको रुपमा सर्वाधिक चर्चाको विषय बनेको छ पश्चिम नवलपरासी सुस्ता ।
नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ५ मा रहेको सुस्ता वस्ती पालिकाको ठाडी घाटबाट करिब ३ किलोमीटरको दूरीमा रहेको छ सुस्ता वस्ती ।
विक्रमसम्वत् २०३४ सालमा नारायणी नदीमा आएको बाढीको कारण नदीले धार परिवर्तन गर्दा नारायणीको पूर्वमा पर्न गएको वस्तीमा भारतीय पक्षले दाबी गर्न थाले पछि सुस्ता विवाद शुरु भएको हो । सन् १८१६ को सुगौली सन्धि सम्झौता बमोजिम भारतीय सीमा नारायणी नदी हो ।
भारतीय पक्षले दाबी गर्दा नेपाली भूभाग सुस्ताको करिब १४ हजार हेक्टर अर्थात् १४५ वर्ग किलोमिटर जमीन अतिक्रमणमा परेको पाइन्छ । सुस्तामा आवत जावत गर्न जोखिम यात्रा तय गर्नुपर्ने बाध्यता रहेको छ । ठाडी घाटबाट करिब २०/३० मिनेटको डुङ्गाको यात्रा तय गरेर पुगिने सुस्तामा बिजुली, बाटो, शिक्षा आदिको अभाव एकातिर रहेको छ भने अर्कोतिर भौतिक निर्माणको कुनै काम गर्दा भारतीय सुरक्षा निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेको छ । सामान्य बिरामी हुँदा पनि औषधि नपाइने सुस्तामा आवत जावत गर्न करिब ७ वर्ष अगाडि झोलुङ्गे पुलको निर्माण कार्यको थालनी गरियो ।
पुलको निर्माणले नारायणी नदीले घेरिएको सुस्तालाई आफनै गाउँपालिका र सदरमुकाम सम्म पुग्न सहज हुने थियो । सुस्तालाई सहज बनाउन करिब ७ वर्ष अगाडि पुल निर्माणको लागि त्रिशुली आश्रम जेभी कन्स्ट्रक्सन कम्पनीले २०७४ सालमा करिब २९ महिनामा झोलुङ्गे पुलको काम समाप्त गर्ने भनी २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरियो । करीब १ हजार ५ सय ७१ मीटर लम्बाई र डेढ मीटर चौडाईको पुलको पिलर निर्माणको काम सम्पन्न भएर अनेकन बाहानामा ठेकेदार भागिरहेका छन् ।
सुस्ताको समस्याको विषय व्यापक चर्चा भएपनि हालसम्म कुनै पक्षबाट पहली कदम अगाडि आउन भने सकेको छैन ।





