मुख्य समाचार

    २४ घण्टे स्पष्टीकरण पत्र पेश गर्न ऋषि धमलालाई प्रेस काउन्सिलको निर्देशन

    नवलपुर टुडे
    २०७८ चैत्र २२ | मध्यान्ह ०५:१२ बजे

      काठमाडौं, चैत २२ । सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले २४ घण्टाभित्र स्पष्टीकरण पत्र पेश गर्न निर्देशन दिएको छ ।

      प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका धमलालाई सो टिभीबाट यही चैत २० गते जनता जान्न चाहान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो । उक्त कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको स्रोतले जनाएको छ ।

      प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा भ्रमण दलमा नै सहभागी भएका उनले विमानभित्रैबाट अनुमति बेगर, पटकपटक वायु सेवाका कर्मचारीहरुले सेक्युरिटी प्रोटोकल विपरीत यसो नगरी दिनुस, यसो गर्न मिल्दैन भन्दाभन्दै पनि बलजफ्ति जवरजस्ती रुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

      पत्रमा भनिएको छ,‘पत्रकार तथा सञ्चार माध्यमले सूचना तथा सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेशागत अभ्यासमा सामाजिक शिष्टता र मर्यादित कार्यशैली प्रयोग गर्नुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६०) को व्यवस्था रहेको छ । तसर्थ, सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रशारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटकपटक यस्तो गैर पेसागत क्रियाकलाप किन हुन पुगेको हो ? पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिन्छ ।’

      धमलालाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ प्रेस काउन्सिल नेपालका अध्यक्ष, मुख्य अधिकृत, प्रवक्ता र सूचना अधिकृतलाई गरिएको छ ।

      photo 2022 04 05 17 34 32

        कमेन्टहरु