सुनचाँदी लुटपाट गर्न आएका समूहले पसल सञ्चालकमाथि गरे आक्रमण, एक जना पक्राउ


बुटवल, चैत १८ । रुपन्देहीमा सुनचाँदी पसल लुट्न आएका समूहले पसल सञ्चालकमाथि आक्रमण गरेको छ । जिल्लाको सैनामैना-१, रानीवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलका सञ्चालकमाथि लुटेरा समूहले हथौडा प्रहार गरी घाइते बनाएका हुन् ।
बिहीबार साँझ करिब ६:३० बजेको समयमा आएका दुई जनाको समूहले पसल सञ्चालकमाथि आक्रमण गरेका थिए । आक्रमणबाट सञ्चालक अन्दाजी वर्ष ३५ का गणेश हमाल घाइते भएका हुन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
लु४८प १२५६ नम्बरको मोटरसाइलकामा आएका दुई जनाले उक्त पसलमा गरगहना लुटपाट गर्न खोजेका थिए । लुटेरा समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट एक थान नक्कली पेस्तोल, धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तुको कृष्णनगर नगरपालिका – ३ बस्ने वर्ष ३८ का अब्दुल्ला शाह रहेका छन् । फरार रहेका अर्का लुटेराको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।





