म्याग्दीमा दुर्घटनापछि पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी

नवलपुर टुडे
२०७८ चैत्र १७ | मध्यान्ह १२:१२ बजे

बेनी, चैत १७ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ ।
बिहीबार बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार सवारीसाधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एकापसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकापसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो ।
दुबै सवारीसाधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ । रासस





