सर्लाहीको लालबन्दीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, पाँच घाइते


सर्लाही, चैत १७ । सर्लाहीको लालबन्दी नगरपालिका–१७, स्थित कालिन्जोर पुल नजिकै कार दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लाबन्दीमा बुधवार राती भारतीय नम्बर प्लेटको बिआर०६ बिएम१५३७ नम्बरको कार दुर्घटनामा परेको हो ।
सो दुर्घटनामा कार चालक भारतको सितामढी जिल्ला बयलडाबड धनुषी–२, निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते यादवको तत्काल उद्दार गरी उपचारका लागि लालबन्दीस्थित गडिमाई अस्पताल लगिएको थियो । कानबाट अधिक रगत बगेको अवस्थामा अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक यादवको सव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
यसैगरी उक्त कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी–२, का २७ वर्षीय अतुल कुमार, १९ वर्षीय दिव्यान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय सौरव यादव र भारतको मुजफ्फरपुर रामनगर–१, बस्ने २५ वर्षीय अजित यादव गम्भीर घाइते भएका छन् । उनीहरुको लालबन्दी स्थित गडिमाई अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीब्र गतिका कारण कार अनियन्त्रीत भइ सडकबाट १० फिट तल पल्टिएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए ।





