मुख्य समाचार

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ घिमिरेलाई ज्यान मार्ने धम्की

    नवलपुर टुडे
    २०७८ चैत्र १६ | बिहान ०७:१२ बजे

      बुटवल । सोमबार राजीनामा बुझाएका लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले ७ अर्बको लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतोको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेले आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको बताएका हुन् ।

      लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै सरकारले डेढ सय करोडभन्दा बढी राष्ट्रलाई घाटा पुर्‍याउने गरी ठेक्का प्रक्रिया अगाडि बढाएको समाचार सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो ।

      मुख्यमन्त्री कुलप्रसाद केसीको विशेष प्रस्तावमा सिइओ बनेका घिमिरेले उनकै प्रस्तावमा आइतबार मात्र प्रदेश स्थायी राजधानीको गुरुयोजना बुझाएका थिए । उनले प्राधिकरणको सिइओबाट राजीनामा मात्र दिएका छैनन् ०५६ सालदेखि आबद्ध रहेको नेकपा माओवादी पार्टीबाट समेत अलग भएको घोषणा गरेका छन् ।

      उनले भने, ‘कुरा १ सय ५० करोडको छ आफै बुझ्नुस् बाँचिएछ भने भेटेर सबै कुरा भन्नेछु । बाँचिएछ भने भेटेर अनियमितताका थप तथ्य सार्वजनिक गरौँला म असुरक्षित छु त्यति बुझ्नुस् ।’ तर उनले आफूलाई कसले धम्की दियो भन्ने बारे खुलाउन चाहेनन् । उनले भने, ‘मैले उहाँहरूले दिएको दबाब अनुसार काम नगरेकै हो, उहाँहरूले काम गर्न दबाब दिएकै हो काम गर्न नमानेपछि कारबाही गर्छु भनेकै हो, मैले त्यही दबाब नझेल्ने भनेर राजीनामा दिएकै हो, अरू बिस्तारै खुल्दै जाला ।’

      दलालको दलाल बन्दिन भनेर राजीनामा दिएर चर्चामा आएका घिमिरेको यो विषयमा मानवअधिकारवादीहरुले यथार्थ विषय छानबिन हुनुपर्ने बताएका छन् . मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले घिमिरेले सार्वजनिक गरेको विषयमा यथार्थ छानबिन हुनुपर्ने बताएका छन् ।

        कमेन्टहरु