नेताले जनतालाई गोरु बनाएको भन्दै हलो जुवा बोकेर महाकाली मेची पैदल यात्रामा


सुरज नेपाली
बुटवल, चैत्र १५ । देशमा भइरहेको भ्रष्टाचारको विरोधमा कैलालीका एक युवा काँधमा हलो जुवाको प्रतिक बोकेर पश्चिम महाकालीदेखि पुर्व मेची पैदल यात्रामा निस्किएका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुरीया निवासी देवराज पाध्यायले चैत्र १ गते महाकालीको गड्डाचौकीबाट पैदल यात्रा सुरु गरेका हुन् ।
चैत्र १४ गते सोमबार बिहान रुपन्देहीको देवदह आइपुगेका पाध्यायले नेताहरुले जनतालाई गोरु बनाएको महसुस गरेकाले काँधमा हलो र जुवा बोकेर पैदल यात्रामा निस्किएको बताए । उनले आउने चुनावमा हाम्रोलाई भन्दा राम्रोलाई जिताएर देशको दीर्घकालिन बिकास गर्नुपर्ने आग्रह गर्नु पनि आफ्नो पैदल यात्राको उद्देश्य रहेको बताएका छन् ।
पैदल यात्री पाध्यायले संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने आफ्नो माग रहेको जिकिर गरे । जमानादेखि नेपालमा बिदेशी सहयोग आएको भएपनि नेताहरुले भ्रष्टाचार गरेका कारणले देश विकास हुन नसकेको र एमसीसीमा समेत भ्रष्टाचार हुने भन्दै सम्झौता खारेज हुनुपर्ने आफ्नो माग रहेको बताए ।
यात्राको क्रममा विभिन्न ठाउँमा स्थानिय, प्रहरी तथा व्यवसायीहरुले सामान्य सहयोग गरेको बताउँदै दैनिक ३५ किलोमिटर यात्रा गरिरहेको जानकारी दिए ।





