मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ


धनुषा, चैत १४ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गर्ने ३९ जनालाई प्रहरीले पक्राउ गरेका छन् । चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरुले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै ३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा २७ महिला र १२ पुरुष छन् । चुरे तथा वन जंगल संरक्षण अभियान्ताहरु पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।
उनीहरुले सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर विक्री गरेको विषयमा छानबिनका गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रदर्शन गरेका हुन् ।
यसअघि चुरे अभियन्ता अनसन बस्दा मन्त्रीले मागहरु पूरा गर्ने र यसका लागि समिति बनाएर समितिको प्रतिवेदनको आधारमा कारबाही गर्ने प्रतिवद्धता जनाए पनि माग पूरा नगरेको उनीहरुको आरोप छ ।





