जिल्ला अदालत तनहुँको आदेशविरुद्व पल शाह उच्च अदालत जाँदै


दमौली । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत कास्की जाने भएका छन्।
तनहुँ अदालतले बिहीबार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । पलका वकिलहरूले सोमबारसम्म उच्च अदालत पोखरामा पुनरावेदनका लागि निवेदन दर्ता गर्ने तयारी गरेका छन्। पललाई तारेखमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरूले उच्च अदालत जाने तयारी गरेका हुन्।
पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाई छ । जबरजस्ती गरेको भनिएका शाहसँगै नाबालिग गायिका शुक्लागण्डकी नगरपालिकास्थित ढोरबाराही मन्दिरमा पूजाअर्चनाका लागि गएको देखिएको अवस्थामा करणी भएको आधार मान्न अवस्था नसक्ने वकिलहरूको दाबी छ। जबरजस्ती करणी गर्ने व्यक्तिसँगै घुम्ने, नाच्ने गरेकाले जबरजस्ती करणी हुन नसक्ने भएकाले उच्च अदालत पोखरामा पुनरावेदनका लागि निवेदन लिएर जाने तयारीमा रहेको पलका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी गराए।
‘एउटा जबरजस्ती करणीमा परेको महिलाले एकसाथ घुम्ने, नाच्ने गर्न किमार्थ सक्दैन, कार्यक्रमहरूमा सहभागी हुन नसकेको, टोलाएको भनिएको अवस्था छ, कलाकारिता क्षेत्रमा सहभागी हुन नसकेको भनिएको छ, तर उनले विभिन्न महोत्सव तथा कार्यक्रम स्वभाविक प्रक्रियाबाट गायन क्षेत्रमा संलग्न रही स्वाभाविक रूपमा दैनिकी गुजारेको देखिएको छ’ वाग्लेले भने ‘उनी जबरजस्ती करणीमा परेकी हुन् भन्ने आधार छैन।’ प्रमाणले समर्थित भइरहेको अवस्थामा जिल्ला अदालतले त्यसतर्फ ध्यान नदिई थुनामा राख्ने आदेश दिएकाले पुनरावेदनमा जाने तयारी गरिएको उनले बताए।
त्यस्तै, पल शाहले जबरजस्ती करणी गरेको होइन भनिरहेको र प्रमाणहरूले पनि समर्थित गरिरहेको अवस्थामा अदालतले दिएको आदेश चित्त नबुझेकाले आदेश बदर गरी शुद्ध तारेखमा राखी पुर्पक्ष गरी पाऊ“ भनि पुनरावेदन जाने तयारी गरिएको वरिष्ठ अधिवक्ता वाग्लेले बताए।
‘फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिमको निवेदन र न्याय प्रशासन ऐन २०७३ को दफा १६ अन्तर्गतको निवेदन लिएर पुनरावेदनका लागि उच्च अदालतमा जाने तयारी गरेका छौँ’ उनले भने ‘मिसिल तयार भइरहेको छ, उच्च अदालतबाट कैफियत माग हुनेछ, के कति कारणले थुनामा राखिएको भन्ने कारण माग हुन्छ, उच्च अदालतबाट सवाल हुने, जिल्ला अदालतले जवाफ दिने, बहस हुन्छ, समय तोक्न नसकिए पनि एक वा डेढ महिनाभित्र निकास लिने प्रयासमा छौँ।’
पलले बहिनीको रूपमा संरक्षण गरेको भनेर बयान दिएको वरिष्ठ अधिवक्ता वाग्लेको दावी छ। नाबालिग भएको दाबी एक्कासि देखाइएको उनको भनाई छ। जन्मदर्ता र अस्पतालको रिपोर्ट आवश्यक हुने भएपनि नागरिकता तथा पासपोर्टलाई लिइँदा मान्न सकिने अवस्था नरहेको वकिलहरूको भनाइ छ। एकोहोरो प्रेमले गर्दा प्रतिशोधको भावनाले यस्तो किसिमको जाहेरी दिएको हुनसक्ने अवस्थालाई इन्कार गर्न सक्ने अवस्था नरहेको वकिलहरूको भनाइ छ।





