जेठाजु र ससुराद्वारा बुहारीमाथि एसिड प्रहार


पर्सा, चैत १२ । पर्साको वीरगंज महानगरापालिका – १३ श्रीपुर निवासी एक महिलामाथि शुक्रबार राति एसिड प्रहार भएको छ । स्थानीय उमेश साहकी श्रीमती २८ वर्षीया सीता पटेलमाथि एसिड प्रहार भएको हो ।
आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा पटेललाई मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो ।
कलैयामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ल्याइएको प्रहरीले जनाएको छ । पीडितले उक्त घटनामा जेठाजु वीरगंजको श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् ।
दुवैलाई वीरगंजबाट नियन्त्रणमा लिई के कारणले एसिड प्रहार गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।





