माओबादी केन्द्र धुर्कोट गाउँपालिकामा चुनाबी तयारीमा जुटे


इन्द्रजित नेपाली
गुल्मी । धुर्कोट गाउँपालिकामा चुनावी तयारीमा जुटेको छ । पार्टीले विभिन्न बैठकको आयोजना गर्ने, विभिन्न समितिहरु गठन गर्ने, कार्यकर्ता प्रशिक्षण गर्ने लगायतका कार्य गर्दै चुनावी तयारीमा जुटेको हो ।
तयारीको लागि बिहीबार पार्टीले बर्बोटमा विस्तारित बैठक सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य वीरबहादुर कार्कीले सबै एकजुट भएर निर्वाचनमा लाग्न कार्यक्रताहरुलाई निर्देशन दिए । पार्टीका विभिन्न नेता, भातृ संगठनका प्रमुख एवम् प्रतिनिधि, वडा कमिटीका पदाधिकारी, गाउँ कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो।
देशैभर माओवादीले जितेका पालिकामा बढी विकास भएकोले अबको निर्वाचनमा माओवादी केन्द्रको विकल्प नभएको धारणा राखे । त्यस्तै जिल्ला संयोजक बुद्धि जिसीले जो जहाँ छ, त्यही खटेर पार्टीलाई जिताउन कार्यकर्तालाई आग्रह गरे। बैठकले पार्टीका गाउँकमिटी अध्यक्ष गोपाल कुँवरको संयोजकत्वमा गाउँकमिटीका सबै सदस्यहरु सदस्य रहने गरी निर्वाचन परिचालन समिति गठन गरेको छ ।
त्यस्तै चन्द्र विकको संयोजकत्वमा वडा कमिटीका सबै अध्यक्षहरु सदस्य रहने गरी निर्वाचन घोषणा–पत्र प्रकाशन समिति एवम् महेन्द्र वि.सी.को संयोजकत्वमा रेशम थापा, भरत पाण्डे र हुमाकान्त पोखरेल सदस्य रहने गरी प्रचार–प्रसार समितिको गठन गरेको गाउँ कमिटी सचिव कमला घर्तीले जानकारी दिइन् ।
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले पालिकाले गरेको कामको जानकारी गराएका थिए । त्यस्तै गाउँपालिकालाई नेपालकै तेस्रो तथा लुम्बिनी प्रदेशको पहिलो पालिका बनाउन भुमिका खेल्ने पार्टीका सबै कार्यक्रतालाई धन्यवाद् दिए ।





