फर्पिङ नाकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ


काठमाडौं, चैत ९ । प्रहरीले फर्पिङ नाकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट ४७ ग्राम लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-६ घर भई हाल कीर्तिपुरको मच्छेगाउँ बस्ने ३१ वर्षीय विनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्ने २० वर्षीय रमेश यादव रहेका छन् ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ३९९१ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध बरामद भएको र दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन,२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक एवम् प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।





