व्यापार घाटा घटाउने नीति तथा कार्यक्रम बनाउन प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं, चैत ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नका निम्ति व्यापार घाटा घटाउने नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापार घाटा घटाउने नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिदै भने ‘अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्नुहोस् र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्नुहोस्’
प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनु पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि आग्रह गरे । ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, उनले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’
उक्त समीक्षा कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय याेजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरूको पनि सहभागीता प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





