निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने


काठमाडौं, चैत ७ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको बताएका हुन् ।
आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको उनले बताए ।
त्यस्तै निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेक ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेकोमा आयोगमा ५८ वटा दलहरूबाट विवरण प्राप्त भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले नेपाल टेलिकमसँगको सहकार्यमा ११०२ नम्बरको टोलफ्रि नम्बर चैत्र १५ गतेदेखि सुरु गर्न लागेको पनि प्रवक्ता पौडेलले बताए । उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने उनको भनाई छ । त्यसैगरी, हरेक मतगणनास्थलमा स्थल दृश्य अवलोकन प्रणाली जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहलाई अनुरोध गरिएको पनि उनले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार आयोगबाट आगामी स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको र स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगको मिति २०७८/१२/०४ को निर्णय अनुसार मिति २०७९ वैशाख ११ गतेबाट सुरु हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।





