निर्वाचनबारे जिज्ञासा वा गुनासो सुनुवाइका लागि टोल फ्री नम्बर सञ्चालनमा ल्याइँदै


काठमाडौं । आगामी वैशाख ३० गते हुँदै गरेको स्थानीय तहको निर्वाचनबारे गुनासो सुनुवाइका लागि टोल फ्री नम्बर सञ्चालन गर्ने भएको छ । आयोगले निर्वाचन सम्बन्धी कुनै पनि जिज्ञासा वा गुनासो सम्बोधन गर्न चैत १५ गतेदेखि टेलिफोन हटलाइन सुरु गर्न लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाल टेलिकमसँगको सहकार्यमा चैत १५ गतेदेखि ११०२ नम्बरबाट निर्वाचनसम्बन्धी गुनासो व्यवस्थापन गर्न लागिएको हो । ‘निर्वाचनबारे कुनै जिज्ञासा वा गुनासो भएमा आम सर्वसाधारणले निःशुल्क जानकारी लिन सक्ने गरी ११०२ नम्बरको हटलाइन चैत १५ देखि सञ्चालनमा ल्याइनेछ’, प्रवक्ता पौडेलले भने ।
साथै आयोगले देशभरका सबै स्थानीय तहमा हुने मतगणनाको डिजिटल अनुगमन समेत गर्ने उनले बताए । त्यसका लागि ‘भोट काउण्टिङ म्यानेजमेन्ट सिस्टम’ सबै स्थानीय तहमा लागु गर्ने निर्णय गरिएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा समेत ल्याएको छ ।





