प्रधानमन्त्री देउवा मोरङ आउँदै


विराटनगर, चैत ७ । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आउँदै छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ को प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि प्रधानमन्त्री देउवा मोरङ आउने भएका हुन् ।
प्रदेश १ का डीआईजी अरुणकुमार बीसीका अनुसार आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा प्रस्थान हुनेछन् । उनी मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन कार्यक्रमपछि पाँचथर र खोटाङ पनि पुग्नेछन् । डीआइजी बीसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको जानकारी दिए ।
आइतबार लेटाङमा स्थानीयको आक्रमणबाट एकजना महिला प्रहरीको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन सोमबार बिहानैबाट लेटाङको चार किल्लामा कर्फ्यु जारी भएको छ । लेटाङसँग सीमा जोडिएको पालिकामा प्रधानमन्त्री पुग्ने भएकाले कडा सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।





