पाखो बारीमा लगाएको उखुले बजार भाउ पाउन थालेपछी, कृषक व्यावसायिक उखु खेती गर्दै


इन्द्रजित नेपाली
गुल्मी, चैत ०६ । गुल्मी ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले बजार पाउन थालेपछि किसानहरु खुसी भएका छन् । गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय ब्याबसायिक खेतीमा तल्लिन हुन् थालेका छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाशसंगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविकोपार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् । त्यसको बिबिधिकरण गर्दै उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्रि गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।
उखुका लागी थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम गुल्मी जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यी क्षेत्रमा उत्पादन भएको गुड र खुदो रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहर देखी बिदेशसम्म प्रख्यात छ । उत्पादन भएको खुदो प्रतिलिटर १ सय रुपैयाँदेखि १८० रुपैयाँ, सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । यस क्षेत्रमा उत्पादन गरिएको गुड तथा खुदो गुल्मी लगायत आशपासका स्थानमा बिक्रि हुदैँ आएको छ । जिल्लाभित्र उखु खेती गरेका किसानसँग उखु खरिद गरी गुड तथा खुदोबाट वार्षिक करिब ३० लाख बरावरको कारोबार गर्ने कृषक नारायण भण्डारीले बताए ।
गाउँमै संचालन भएका केहि उद्योगले केहि स्थानियलाई समेत रोजगारी दिएका छन् । स्थानीय स्तरमै पाएको रोजगारीले घर खर्च र छोरा छोरीलाई पढाउन सहयोग मिलेको विष्णु खप्तरीको भनाई छ । थार्गेली खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्याउने गरेको छ । त्यस्तै, छत्रकोट गाउँपालिका दिगाम–मानकोट र हर्दिनेटा र रुरु गाउँपालिका बिभिन्न ब्लगमा उखुको व्यावसायिक उत्पादन भइरहेको छ । उखु किसानलाई उखु ब्लक कार्यक्रम मार्फत बीउ, पकाउने भाडा, मेसिनहरू अनुदानका थुप्रै कार्यक्रम समावेश गरेको रुरु क्षेत्र गाउँपालिका – ३ थोर्गाका वडाअध्यक्ष शेषनारायण पौडेलले बताए ।





