म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको भिड


रामजी प्रजापति
नवलपरासी, चैत ६ । आगामी स्थानिय तहको निर्वाचनका लागी म्यादी प्रहरीको भर्ना सुरु भएको छ । पश्चिम नवलपरासीसहित देशैभरका प्रहरी कार्यालयमा आज म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको भिड लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीमा भर्नाका लागि आवेदन दिन गाउँ गाउँबाट बिहान ८ बजेदेखि नै बेरोजगार मानिसहरु लाईनमा बसेका थिए । आज कुल ९ सय ६४ जनाले म्यादी प्रहरीका लागी आवेदन पेश गरेको प्रहरी नायव उपरीक्षक डिएसपी प्रेम बहादुर शाहिले जानकारी दिए । जसमा ६ सय ४२ पुरुष र ३ सय २२ जना महिला रहेका छन् ।
जिल्लामा ७ स्थानीय तहमा खटाउनका लागी जम्मा १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादीका लागी यहि चैत्र ११ गतेसम्म आवेदन दिन पाइने छ । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाशं प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ ।
तर म्यादीमा भर्ना हुनका लागी युवा तथा युवतिहरुको लाम छ । बढ्दो बेरोजगारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका, कृषि फर्म गरिरहेका देखि लिएर डिग्रि होल्डरसम्मका व्यक्तिहरु भर्नाका लागी आवेदन दिन लाईनमा बसेका थिए । म्यादी प्रहरीको १५ गतेदेखि भर्ना छनौट हुनेछ । छनौटपछि आधारभूत तालिम दिइ निर्वाचनमा खटाइने डिएसपी शाहिले बताए ।
४० दिन निर्वाचनको काममा खटाइने म्यादी प्रहरीलाई ४३ हजार ४ सय ४० रुपैयाँ तलब दिइने छ । जसमा तलबबापत ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिदका लागि ६ हजार तोकिएको छ ।





