खेलकुद

    रुपन्देही सुपरलिग: बुद्ध क्रिकेट क्लब १३३ रनले विजयी

    नवलपुर टुडे
    २०७८ चैत्र ६ | मध्यान्ह ०७:१२ बजे

      भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको आइतबार भएको सुपर फोरको दोस्रो खेलमा बुद्ध क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई १ सय ३३ रनन्तरले पराजित गर्दै जीत हात पारेको छ।

      भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय ३५ रन जोडेको थियो। उसका लागि विपिन रावलले ५६, सुरज पौडेलले २८, विपिन खत्रीले २७ रनको योगदान दिए । बलिङमा वेष्टर्नका प्रतिष जिसीले ३ र नरेन साउदले २ विकेट लिए।२३६ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको वेष्टर्नले २५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रन मात्र बनायो।

      लक्ष्य पार गर्न नसकेपछि हार व्यहोरेको वेष्टर्नका लागि अनिल शाहले २६, विक्रम भुसालले १९ र सौरभ खनालले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङ तर्फ बुद्धका विपिन खत्री र अमित अग्रहरीले ३–३ तथा रुपेश कुर्मी र सुभाष भण्डारीले समान २–२ विकेट लिए।

      आइतबारको खेलमा विपिन खत्री म्यान अफ द म्याच भई पुरस्कृत भएको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए। शनिबारबाट सुरु भएको सुपर फोरमा रुपन्देहीका ४ टिम डिभिजन ए बाट उक्लेका छन्। सोमबार एमसीसी क्लब र बुद्ध क्रिकेट क्लब बिच प्रतियोगिता हुने संघका सचिव गुरुङले जानकारी दिए।

      नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ। सुपर फोरमा उक्लेका ४ समूहका ४ टिमहरूबीच लिगको आधारमा प्रतियोगिता हुँदैछ । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

        कमेन्टहरु