जग्गा बैना गरी ठगी गरेको आरोपमा एक जना पक्राउ


बुटवल, चैत ६ । जग्गा बैना गरी ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलान्चोकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -३ स्थाई घर भई हाल काभ्रेको धुलिखेल नगरपालिका -४ बस्दै आएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन् ।
घिमिरेले मोरङको बेलबारी न.पा. – ३ स्थाई घर भई हाल काठमाडौ महानगरपालिका – ३२ बस्दै आएका ४० वर्षीय सीमा सुवेदीलाई ठगेका हुन् । सुवेदीले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा ध्रुव प्रसाद घिमिरेसँग चिनजान भएको थियो ।
घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर जिल्ला साविक दुवाकोट गा.वि.स. वडा नं.१ (ग) १ का कित्ता नं. ८०३, ७२८, ७२९ का जग्गाहरू मिति २०७७/०९/२३ गते देखाई उल्लेखित कित्ताहरू मध्येको कि.नं. ७२८ बाट कित्ताकाट गरी प्रतिआना रू.२१,००,०००।–( अक्षेरुपी एक्काइस लाख) को दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरी दिने भनी झुठो विश्वास दिलाएका थिए ।
घिमिले जाहेरवालाको नामको राष्ट्रिय बाणिज्य बैंक थापाथली शाखाको चेकबाट र ग्लोबल आईएमई बैक शंखमुल शाखाको चेकबाट पटक पटक गरी जम्मा रू. ४५,५०,०००।– (अक्षेरुपी पैँतालिस लाख पचास हजार) चेक मार्फत् रकम लिई केहि समय पश्चात् सम्पर्क विहीन भएका हुन् ।
गत फागुनको ६ गते मालपोत कार्यालय भक्तपुरमा गई बुझ्दा बिक्री गर्ने भनी बैना गरेको उक्त जग्गा अर्कै व्यक्तिको नाममा राजिनामा पास गरी बिक्री गरेको थाहा भएपछि निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको खुलेकाले कानून बमोजिम कारवाही गरी पाउँ भनी प्रहरी महाशाखा काठमाडौमा जाहेरी दरखास्त गरिएको थियो ।
प्रहरीको अनुसन्धानको क्रममा निज ध्रुव प्रसाद घिमिरेले ठगी गरेको प्रमाणित भएपछि सम्मानित काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमति लिई महाशाखाबाट खटिएको विशेष टोलिले चैत ४ गते साँझ साढे ६ बजेतिर काठमाडौँ महानगरपालिका – १ दरबारमार्गबाट पक्राउ गरिएको हो ।
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको प्रहरीले जनाएको छ ।





