सङ्खुवासभा दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो, जीवितै उद्धार ५ जना गम्भिर


संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट झापाको दमकका लागि छुटेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १४ पुगेको छ । आज बिहान करिब ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
मृत्यु हुनेको १४ को शव निकालिएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका प्रमुख डिएसपी लालध्जव सुवेदीले जानकारी दिए । घटनास्थलमा रहेका मादी नगरपालिका कृषि शाखा प्रमुख निराजन दाहालका अनुसार १४ जनाको शव निकालिको हो । उनले मृतकहरूको पहिचान भने भइनसकेको नवलपुर टुडेलाई बताए ।
यस्तै, दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको दाहालले जानकारी दिए । उनका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो । तथापि, उनीहरूको अवस्थासमेत गम्भीर छ । दाहालका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख असइ मानबहादुर खत्रीले मादीबाट झापातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो । उनका अनुसार सडकबाट बस करिब चारसय मिटर तल खसेको थियो ।
सातघुम्तीमध्ये सिरानको घुम्तीबाट बस खसेको थियो । गाडीको ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।





