अन्तर्राष्ट्रिय महिला दिवसकै दिन दैलेखमा चक्कु प्रहारद्वारा श्रीमती घाइते


दैलेख, फागुन २४ । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक पुरुषले पत्नीमाथि चक्कु प्रहार गरि घाइते बनाएका छन ।
दैलेख नारायण नगरपालिका-११ की २४ वर्षीया सावित्रा शाहीमाथि उनका पति २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारपछि सावित्रा सख्त घाइते भएकी छन्।
उनलाई घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका-८ चौराठास्थित माइतीघरमा बस्दै आएकी सावित्रालाई बखतले सोमबार साँझ माइतीघरमै पुगेर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
सावित्रामाथि चक्कु प्रहार भएलगत्तै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाइ १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कु प्रहार गरेर घाइते बनाएकामा घटनालगतै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा पुर्याइएको छ।
उनका श्रीमानले दिनहुँजस्तो कुटपिट गर्न थालेपछि गएको दुई महिनादेखि घाइते श्रीमती माइतीघरमा बस्दै आएकोमा माइतीमै पुगेर एक्कासी चक्कु प्रहार गरी घाइते बनाएको पीडित महिलाले बताइन्। सावित्रासहित उनका बुबा बमबहादुर र भाइ सुरेशको दैलेख अस्पतालमा उपचार भइरहेको डा. जगत थापाले जानकारी दिए।
पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। बखतलाई प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए।





