काठमाडौंमा एकै परिवारका ५ जना बेहोस अबस्थामा भेटिए, एकको मृत्यु


काठमाडौं, फागुन २४ । काठमाडौंमा एकै परिवारका ५ जना बेहोस अबस्थामा भेटिएका छन । ती मध्ये एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौका एसएसपी सुदिप गिरीले जानकारी दिएको छ ।
नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएको हो । चार जनाको गम्भीर अवस्थामा स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा विषका बोतल भेटिएकाले सामुहिक आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए।
सोमबार नै ललितपुर कोन्जोसोम गाउँपालीका- ४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएको महानगरीय परिसर ललितपुरका प्रवक्ता शिद्धिविक्रम शाहले बताए। एक नाबालकको भने उपचारका क्रममा मृत्यु भएको हो। अर्का एकजनाको उपचार भइरहेको छ।
प्रवक्ता शाहका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी सुस्मा स्याङताङ, ९ वर्षका नाती आसिस, ५ वर्षीय नातिनि आस्मा र २ दिनका नाबालक हुन्।
नाबालकको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। सुस्मा दुई दिनकी सुत्केरी थिइन्। गए राती खाना खाएर कोइला बालेर सुतेकाले निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।





