रामेछापमा श्रीमतीलाई चक्कु प्रहारपछि श्रीमानको आत्महत्या प्रयास


मन्थली । रामेछाप नगरपालिका– ८, भँगेरीका ३७ वर्षीय प्रकाश श्रेष्ठले श्रीमती नम्रता श्रेष्ठलाई गएसाँझ चक्कु प्रहार गरेका छन् ।
मादक पदार्थ सेवन गरेर घर आएका प्रकाशले भान्साकोठामा तरकारी काट्दै गरेकी नम्रताको हातबाट चक्कु खोसेर प्रहार गरेका थिए । केही दिनदेखि घरमा श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदै आएको थियो । सोही विवादका कारण प्रकाशले मदिरा सेवन गरी श्रीमतीको घाँटीमा धारिलो चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
श्रीमानले आवेशमा आएर चक्कु प्रहार गरेपछि श्रीमतीले भने भागेर ज्यान बचाएकी छिन् । श्रीमती भागेपछि प्रकाशले आफ्नै घाँटी रेट्ने प्रयास गर्दैगर्दा छिमेकीले उनको हातबाट चक्कु खोसेका थिए ।
घटनापछि छिमेकीहरूले घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप पुर्याएका थिए । घाइते दुवैको अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको र दुवैको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।





