आगलागीको घटनाप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक रामचन्द्र पौडेलले आइतबार दमौलीमा भएको आगलागीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। हिजो साँझ तनहुँको दमौली पुगेका पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
“दमौलीमा भएको आगलागीको घटनाले मलाई निकै दुःखित बनाएको छ”, उनले भने। यस आगलागीको घटनाले जनजीवनलाई आतङ्कित र त्रसित बनाएको भन्दै नेता पौडेलले धैर्यधारण गर्न पीडित परिवारलाई आग्रह गरे। उनले वारुणयन्त्रलाई चुस्त रूपमा राख्न सकेको भए कम क्षति हुने दाबीसमेत गरे। राहत र क्षतिपूर्तिका कार्यक्रम छिट्टै उपलब्ध गराउन आफूले सरकारसँग आग्रह गर्ने बताउँदै उनले घरहरू बनाउँदा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए।
स्थानीय तहहरूले पहिलो प्राथमिकतामा राखेर वारुणयन्त्र खरिद गर्नुपर्ने सुझाव दिँदै नेता पौडेलले आफू प्रधानमन्त्री कहाँ गएर गृहमन्त्रीलाई बोलाएर सिम्रिक एअरको हेलिकप्टर पठाएको बताए। कामहरू गर्दा सावधानी र सतर्कता अपनाउन नसक्दा आगलागीका घटना हुन सक्ने भन्दै उनले धनमालको ठूलो क्षति भएकाले पीडितलाई राहतका लागि सबै लाग्नुपर्नेमा जोड दिए। रासस





