मुख्य समाचार

    मुस्ताङको मानापाथी हिमालकाे हिमपहिरोमा परी १५ चौँरी मरे

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २२ | बिहान ०९:११ बजे

      मुस्ताङ । मुस्ताङमा गएको हिमपहिरोमा परी कम्तीमा १५ वटा चौँरी मरेका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार शनिबार बिहान गएको हिमपहिरोले मानवीय क्षति भने भएको छैन।

      ‘चौँरी चरन क्षेत्रमाथिको मानापाथी हिमालमा हिमपहिरो गएको हो’, ढकालले भने, ‘१५ चौँरी मरेको पुष्टि भएको छ। मानवीय क्षति भएको छैन, गोठालाहरु सुरक्षित छन्।’

      शनिबार बिहान सवा ४ बजेतिर थासाङ गाउँपालिका–२ को धौलागिरि तल रहेको मानापाथी हिमालमा पहिरो गएकाे हो। पहिराेले गोठमा रहेका चौँरी मरेका हुन्। १५ वटा चौँरी भने जीवितै भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

      गएको कात्तिक अन्तिममा पनि सोही स्थानमा ठूलो हिमपहिरो गएको थियो। तीन महिनापछि फेरि हिमपहिरो जाँदा स्थानीय बासिन्दा केही त्रसित देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

      उनका अनुसार स्थानीयले यो समयमा यसरी हिमपहिरो गएको आफूहरुले अनुभव नगरेको भन्दै जलवायु परिवर्तनका कारण परेको वातावरणीय प्रभाव यसको कारक हुन सक्ने बताएका छन्।

        कमेन्टहरु