धर्म–संस्कृति/रीतिथिति

    रामेछापका माझी समुदायले मनाए नदी(लदी)पूजा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २१ | बिहान ०७:११ बजे

      रामेछाप, फागुन २१ । सीमान्तकृत माझी समुदायले लदी पर्व धुमधामसँग मनाएका छन्। नदीलाई माझी भाषामा लदी भनिन्छ। सदियौंदेखि नदी किनारमा बस्दै आएका उनीहरूले कोशीलाई जीविकोपार्जनको माध्यम बनाएका छन्।

      भगवान् रामले माझीसँग मित लगाएको किंवदन्ती रहेको र भगवान् रामकै पालादेखि फागुनमा नदी पूजा गर्ने अगुवा शंकर माझी बताए। प्राचीन सभ्यता र संस्कृतिसँग माझी समुदायको नाता कोशीसँग नै जोडिएको छ।

      कोशी र माझीको अन्योन्यास्रित सम्बन्ध रहेको र माझी समुदायको साँस्कृतिक परम्परा र इतिहास जोगाउन पनि युवा पुस्ता लागिपरेको माझी युवा बताउँछन्। संस्कार र संस्कृति पछिल्लो पुस्ताले पनि अवलम्वन गरुन् भन्न युवा संस्कृति संरक्षणमा जुटेको कलाकार बाबुराम माझीले बताए।

      ‘कोशी किनारमा बस्छौं, यसैलाई कर्मथलो बनाएका छौं’, उनी भन्छन्, ‘कुनै पनि दैविक प्रकोप नहोस् भनेर हाम्रा पुर्खाले नदी पूजा गर्दै आए।’ आफूहरू सधैं नदीमै काम गरेर दैनिकी बिताउने हुनाले कोशीले केही क्षति नपुर्याओस् भनेर पूजा गरिएको उनले बताए।

      पूजामा सबै जना एकैसाथ भेला भएर पूजा गर्ने गरेको बुद्धिजीवी बालकृष्ण माझीले बताए। सुनकोशी नदीले सुँगुरको भोग खाने र तामाकोशी नदीले पाठीको भोग खाने प्रचलन अनुसार सुनकोशी नदी किनारका माझी समुदायले सुँगुरको र तामाकोशी नदी किनारका माझी समुदायले पाठीको भोग दिएर नदी पूजा गर्दै आएको बालकृष्ण बताउँछन्।

      कोशी किनारका माझीहरूले माछा मार्ने र डुंगा चलाउने पुख्यौली पेशा अंगाल्दै आएका छन्।

        कमेन्टहरु