खेलकुद

    रुपन्देही सुपर लिगअन्तर्गत आजबाट डिभिजन ‘ए’ का खेल भैरहवामा सुरु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | मध्यान्ह ०६:११ बजे

      भैरहवा, फागुन २० । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत आजबाट डिभिजन ‘ए’ का खेल सुरु भएका छन् ।

      डिभिजन ‘ए’ को पहिलो खेलामा एमसीसीले होराइजन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित ५० ओभरको खेलमा २२ ओभरमा खेल्दै सबै विकेट गुमाएर ५१ रनमै समेटियो । उसका लागि विक्रमसिंह विकलले २३, विशाल खत्रीले ८ र कुशल मल्लले ७ रन बनाए ।

      एमसीसीका सेजाद आलम, रोशनलाल गुप्ता, रमेश कुर्मी र सन्तोष यादवले समान २–२ तथा शिवकुमार मौर्यले १ विकेट लिए । प्रतिउत्तरमा एमसीसीले १३.३ ओभरमा २ विकेटको नोक्सानीमा ५५ रन बनाउँदै जित निकाल्यो । उसका लागि विजय प्रजापतिले नटआउट १७, सुशान्त थापाले १५, मिर्नाल गुरुङले १० र सविन शाक्यले नटआउट ९ रन बनाए ।

      बलिङमा होराइजनका पुरुषोत्तम भट्टराई र तुलबहादुर थापाले समान १–१ विकेट लिए । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

        कमेन्टहरु