सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना युवाको मृत्यु


बिनोद मण्डल
सिरहा, फागुन १९ । सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका- ४ र १४ को सीमामा पर्ने अमुवा खोलाको पुलमा बुधबार ज ११ प ८९४५ नम्वरको मोटरसाइकल दुर्घटनामा परेको हो।
मोटरसाइकल पुलबाट तल खस्दा त्यसमा सवार महोत्तरीको औरही नगरपालिका–१ का ३२ वर्षीय चन्दनकुमार साह र सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाका राम विश्वास मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
पुलमुनि मोटरसाइकलसहित दुई जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सर्लाहीको हरिपुरस्थित चिताइन मेलाबाट राति फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।
उनीहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।





