लुम्बिनी क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्षसहित नौ सदस्यले सपथ ग्रहणपछि, काम थाले


लुम्बिनी । लुम्बिनी क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्षसहित ९ जना परिषद् सदस्यले काम थालेका छन् । अर्बौंका योजना संचालन भएको कोषमा लामो समयदेखि कोषाध्यक्ष तथा परिषद् सदस्य नभएकाले यहाँको कार्यसम्पादनमा अफ्ठ्यारो भएको कोषका अन्य पदाधिकारी तथा कर्मचारीले बताउँदै आएका थिए ।
नयाँ जिम्मेवारी पाएका पदाधिकारीलाई कोषका उपाध्यक्ष, सदस्यसचिवलगायतका कर्मचारीले स्वागत गरेका छन् । मन्त्रिपरिषदले गत फागुन ५ गते कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहित ९ जना परिषद् सदस्यलाई ५ बर्षका लागि नियुक्त गरेको थियो ।
नवनियुक्त कोषाध्यक्ष भट्टराईसहितका परिषद् सदस्यलाई कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्यलगायतले कार्यालयमा पदभार तथा स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै कोषाध्यक्ष भट्टराईले लुम्बिनी गुरुयोजना समयमै सक्ने र लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध काम साथै तिलौराकोट, देवदहलगायत बुद्धसँग सम्वन्धित स्थानको विकासमा योजनावद्ध ढंगले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसको लागि सबैको सहयोग, सहकार्य जरुरी रहेको बताए ।
कोषका उपाध्यक्ष अवधेशकुमार ज्ञिपाठीले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन कोषाध्यक्ष र परिषद सदस्यहरुको नियुक्तिले उर्जा प्रदान गरेको बताए । सदस्यसचिव सानुराजा शाक्यले कोषको कोषाध्यक्ष र सदस्यहरु रिक्त हुँदा कतिपय कामहरु प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफुहरुलाई उत्साहित बनाएको बताए ।
कोषका अधिकृत ज्ञानिन राईको सञ्चालनमा भएको स्वागत कार्यक्रममा सूचना अधिकारी राजन बस्नेत लगायतले नयाँ पदाधिकारीलागत गरेका थिए । सरकारले नियुक्त गरेका कोषाध्यक्ष भट्टराई गुल्मीमा जन्म भइ विगत तीन दशकदेखि रुपन्देही निवासी हुन् ।लुम्बिनीबारे लामो समय अध्ययन गर्दै आएका उनी लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नाकोत्तर हुन् ।
सरकारले यसपटक रुपन्देहीका अतिरिक्त कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट कोषको परिषद सदस्यमा नियुक्त गरेकाले समग्र बुद्धस्थलको विकासमा टेवा पुग्ने स्थानीयमा आशा पलाएको छ ।





