काठमाडौ टुँडिखेलमा यसरी मनाइयो सेना दिवस


काठमाडौं, फागुन १७ । नेपाली सेनाले विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ। सेना दिवसको अवसरमा मंगलबार सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन्।
सो अवसरमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका ‘सिपाही–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाली आर्मी’ पुस्तक विमोचनका गरिन्। नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।
समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भयो ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम–मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित भएका थिए ।





