बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँ पक्राउ


काठमाडौं, फागुन १६ । नेकपा एमाले मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनीविरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । बानियाँमाथि नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर आफुलाइ बलात्कार गरेको ती महिलाको आरोप छ । पीडित महिला माओवादी निकट हुन् । बलात्कारको आरोपमा उनले गत माघ २७ मा बाँके प्रहरीमा जाहेरी दर्ता गरेका थिए । नेकपा एमालेका सांसद बनियाँ पूर्वमन्त्री हुन् ।
बानियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता लिन उनले महिलालाई नेपालगञ्जमा बोलाएका थिए । सो होटलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ । होटलमा उनीहरुको बिचमा चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।





