वडाध्यक्षको भिरबाट खसेर मृत्यु, गाउँपालिकामा शोक बिदा


दमौली । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्कने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार वडा कार्यालय समय सकेर घर फर्कंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आइतबार शव फेलापरेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए । उनका अनुसार वडाध्यक्षको शव भिरबाट ३०/४० मिटर तल फेलापरेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए ।
वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आइतबार भिरबाट लडेको अवस्थामा शव भेटियो,” उनले भने ।
उनका अनुसार शवको मुचुल्का गरेर परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ । वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
वडाध्यक्षको निधनमा गाउँपालिकामा शोक बिदा
तनहुँको देवघाट गाउँपालिकाले वडा नम्बर–३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य कीर्तिमान आलेको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । वडा कार्यालयबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएका आलेको शोकमा गाउँपालिकाले फागुन १६ गते शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । उक्त दिन गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ । रासस





