सभामुख सापकोटाले भोलि बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


काठमाडौं, फागुन ७ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा आइतबार बिहान ११: ३० बजे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। उनका अनुसार बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुनेछ।
आइतबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद् बैठकमा टेबल गर्ने तयारी गरेको छ। सरकारले आफ्ना एजेन्डाहरू अघि बढाउन कार्यव्यवस्थामा सभामुख र दलहरूसँग औपचारिक आग्रह गर्ने चलन छ। कानुनमन्त्री समितिका पदेन सदस्य हुन्छन्। सरकार र संसद्बीच समन्वयकर्ताको भूमिका निर्वाह गर्ने जिम्मेवारी कानुनमन्त्रीकै हुन्छ।
कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भए कार्यसूची संशोधन गरेर राख्न सकिने संसद् सचिवालयले जनाएको छ। आइतबार बिहान सत्ता गठबन्धनको बैठक पनि बस्दैछ। उक्त बैठकमा एमसीसीबारे निर्णायक छलफल हुनेछ।





