देश

    सर्लाहीको नवलपुरबाट १२६ किलो गाँजासहित दुई जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ७ | मध्यान्ह ०३:११ बजे

      सर्लाही, फागुन ७ । प्रहरीले सर्लाहीको नवलपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका –६, बस्ने २२ वर्षीय सुरेन्द्र विक र सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका –२, बस्ने ४८ वर्षीय भिमलाल मोक्तान रहेका छन् । माछा बोक्ने प्लाष्टिकका दुईवटा ठूला ड्रमभित्र लागूऔषध गाँजा लुकाई ल्याउँदै गरेको सुराकीको आधारमा प्रहरीले गाडीलाई रोकेर चेकजाँच जर्दा उक्त गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।

      बरामद गरिएको गाँजा मकवानपुर तर्फबाट ल्याइएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले उनीहरुको साथबाट ८५ हजार नगद र दुई थान मोवाइल समेत बरामद गरेको बताएको छ ।

        कमेन्टहरु