उदयपुरको सिरुवानीबाट ४ सय किलो गाँजासहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन ६ | मध्यान्ह ०६:११ बजे

काठमाडौं, फागुन ६ । उदयपुरबाट ४ सय किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा ओसारपसार गरिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी रहेका छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।
पक्राउ परेका गोकुल राई पिकअपका साहु तथा चालक हुन् । उनीहरुको साथबाट प्रहरीले ६३ हजार नगद पनि बरामद गरेको छ । उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





