रेलिगेसनबाट जोगियो एपीएफ


काठमाडौं । विभागीय टोली एपीएफ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेसनबाट जोगिएको छ।
बिहीबार भएको खेलमा दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै एपीएफ रेलिगेसनबाट जोगिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा एपीएफले मनाङलाई ३–१ गोलले हरायो। एपीएफलाई प्रभावशाली जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक÷एक गोल गरेका थिए। मनाङका अञ्जन विष्टले एक गोल फर्काए।
सुरुआती एक गोलको अग्रता उल्टाउँदै एपीएफले सानदार जित निकालेको हो। ३७औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि आक्रमक खेल पस्किएको एपीएफले ४०औं मिनेटमा बराबरी गोल गरेको थियो। कप्तान नवीन लामाको पासलाई सदुपयोग गर्दै आशिष लामाले गोल गरेका थिए। ८१औं मिनेटमा मनिकुमारले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए। त्यसपछि ८६औं मिनेटमा नवीनले गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए।
रेलिगेसनबाट जोगिएको एपीएफले ११ खेलमा १४ अंक जोडेको छ। एपीएफ लिगको आठौं स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा कायमै रहेको मनाङले ११ खेलमा २० अंक जोडेको छ।
यसैगरी अर्को खेलमा न्युरोड टिम एनआरटीले संकटा क्लबलाई १–० गोलले हरायो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई जित दिलाउन २८औं मिनेटमा स्टेफन समीर बिनोङले निर्णायक गोल गरेका थिए।





