मुख्य समाचार

    सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकामा तालाबन्दी

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | बिहान ०६:११ बजे

      सप्तरी । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका कार्यालयमा बिहिवार चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले संयुक्तरूपमा नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएको हो।

      नगरपालिकामा महालेखा परीक्षणमा बेरुजु रहेकाले आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराउनुपर्ने, कोभिड नियन्त्रणमा भएको खर्च विवरण उपलब्ध गराउनु पर्ने लगायतका छ बुँदे माग राजनीतिक दलहरूले राखेका छन्।

      यसैगरी कार्यपालिका र नगरसभाबाट पारित गरेका निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने, राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरको भवन निर्माणको मापदण्ड अनुसारको ठेक्का प्रक्रिया पारदर्शी गर्नुपर्ने, अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यावस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका ११ वटै वडाका योजनाको कार्यान्वयन तुरुन्त गर्नुपर्ने माग छन्।

      तालाबन्दी गर्ने राजनीतिक दलहरूले गत माघ २४ गते ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र विवरण उपलब्ध गराउन ‘अल्टिमेटम’ दिएको थियो। ज्ञापनपत्र बुझाएको ११ दिन बितिसक्दा पनि माग सम्बोधन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक युवराज खनालले बताए।

      उता नगरपालिकाले सङ्घर्ष समितिसँग वार्ताको माध्यमले समस्या समाधान गर्ने नगर प्रमुख उत्तम गौतमले बताए।

        कमेन्टहरु