देश

    शंकास्पद वस्तु राखेको आरोपमा झापाका विभिन्न स्थानबाट ९ जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ५ | मध्यान्ह ०७:११ बजे

      झापा । झापाका विभिन्न स्थानमा शंकास्पद वस्तुहरू राख्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् ।

      पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–२ ठेगाना भएका ३८ वर्षीय सुमनकुमार कार्की, कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका–९ चियादोकान चोक का ५० वर्षीया देवी बास्कोटा(गुरागाई), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त, शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगञ्ज गाउँपालिका–३ का ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदिप थापा, गौरीगञ्ज गाउँपालिका–३ का४५ वर्षीय विजय कुमार दास हलुवाइ र संखुवासभा खाँदवारी नगरपालिका–१० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने २९ वर्षीय मनमोहन दाहाल रहेका छन् ।

      गत माघ ९ गते विर्तामोड नगरपालिका–४ स्थित पश्चिम बस स्टेण्डमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र हिमाल सुरक्षा परिषद नामको पर्चाहरू फेला परेको तथा माघ १३ गते दमक नगरपालिका–५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद वस्तु र पर्चाहरू फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

      १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संग्लग्न उनीहरूलाई विभिन्न कागजात तथा ६ थान मोबाइलसहित पक्राउ गरेको हो ।

        कमेन्टहरु