एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं, फागुन ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा तत्कालीन प्रधानमन्त्री ओली र उनका क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पदमा अर्याल र भानुभक्त ढकालविरुद्ध भ्रष्टाचार प्रकरणमा छानविन गरी कारवाही गर्न माग गरिएको छ । अध्यक्ष ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अरबौको जग्गाको सट्टापट्टा गर्न पाउनेगरी संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्याल पनि संलग्न रहेको भन्दै छानविन गर्न माग गरिएको छ ।
त्यसैगरी कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँगको मिलेमतोमा स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कारवाही गर्न माग गरिएको छ । त्यसैगरी भ्रमण वर्ष २०२० का नाममा राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।
अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकी, नेता सुदेश पराजुलीलगायत अख्तियार केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।






