पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन


काठमाडौं, फागुन ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् ।
बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई निर्देशन दिए । उनले भने, “महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनुहोला ।”
यसैगरी, मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल, प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्न समेत निर्देशन दिए । निरीक्षणकै क्रममा मन्त्री आलेले भने, “पशुपति क्षेत्रमा जताततै फोहरको थुप्रो छ, पर्खाल वरिपरि दिसा–पिसाबले भरिएको छ, सबै सफा राख्नुस् । पर्खालमा भगवान्का चित्र चित्रण गर्नुस् ।”
उनले पशुपति परिसरमा सरसफाइ, जीर्णोद्धार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्न समेत आग्रह गरे । देश–विदेशबाट आउने लाखौँ भक्तजनको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यवस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताए ।
पशुपति विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले मन्त्रीको निर्देशनपछि व्यावसायिक कलाकार लगाएर भित्तामा कलात्मक तस्बिर चित्रण गर्ने काम तत्काल सुरु गरिने बताए । रासस





