लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव, बन्द साँझ ५ बजेसम्म जारी


रुपन्देही, फागुन ४ । एमसिसीको विरोधमा विभिन्न ५ दल र एउटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ । राजनीतिक दलहरुले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै सहरका मुख्य बजार बन्द छन् ।
शैक्षिक संस्था भने बुधबारका लागि मंगलबार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् ।





