बालबालिका माथि हुने हिंसाको रिपोर्टिंग सम्बन्धि छलफल कार्यक्रम सम्पन्न


कपिलवस्तु, फागुन ३ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हालमा बालबालिका माथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोटिंग सम्बन्धि निर्देशिका निर्माण गर्न विद्यालय र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूबिच छलफल कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रमको अध्यक्षतामा श्री राष्ट्रिय आधारभूत विद्यालय (१-५) सरफरका प्रधानाध्यापक प्रहलाद पाण्डेय, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, शिक्षा शाखा प्रमुख बिद्यालय निरीक्षक बलराम पन्थी रहनुभएको थियो ।
कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत बालबालिका माथि विभिन्न क्षेत्रमा हुन सक्ने संभावित हिंसाका घटना बारेमा अनिवार्य रिपोर्टिंग सम्बन्धि जानकारी, नगरपालिकाले समेत यस क्षेत्रमा दूरगामी सोच राखेर बालबालिका माथि हुने हिंसाका घटनाहरूको अनिवार्य रूपमा रिपोर्टिंग गर्न संयन्त्र निर्माण गरी योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षकका रुपमा रहनु भएका अधिवक्ता राजु श्रीवास्तवले बालबालिकाको परिभाषा, यौनिकताको परिचय, हिंसाका प्रकारहरू, कार्यस्थलमा हुन सक्ने हिंसा, कानुनी आधार, कानुनी उपचार, उजुरी कसरी र कहाँ दिने लगायत अन्य बिषयमा बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले विभिन्न क्षेत्रमा बालबालिका माथि हुन सक्ने संभावित हिंसाहरूको बारेमा अवगत गराइएको र अन्य बिषयमा कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा वृहत छलफल भएको थियो । कार्यक्रममा शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, प्रहरी लगायत अन्यको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।





