मुख्य समाचार

    नवलपरासीमा एग्रोभेट पसल र फेन्सी पसलमा आगलागी हुँदा लाखौंको क्षति

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | मध्यान्ह ०१:११ बजे

      रामजी प्रजापति
      नवलपरासी, फागुन ३ । पश्चिम नवलपरासीको कालिका टोल – ५ परासीमा पुरानो नगरपालिकाको अगाडि पट्टी र लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतल्ले घरमा गए राति आगलागी हुदाँ ठूलो क्षति भएको छ ।

      साँझ करिब साढे सात बजे भएको आगलागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

      एग्रोभेट पसलबाट शुरु भएको आगो छेउको फेन्सी पसलमा पनि लागेको थियोे । बन्द अवस्थामा रहेको दुवै सटरमा आगलागी हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । दुवै पसल एक महिना अघिमात्र सञ्चालनमा आएको बताईएको छ । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

      आगलागी नियन्त्रणको लागि रामग्राम नगरपालिकाको दमकल बोलाईएकोमा शुरुमा पानी नभएको र भरेर आएपछि पनि दमकलले फोर्सले पानी फाल्न नसकेपछि दुईटा दमकल हुदा हुँदै बिग्रेको दमकल आएको हुनाले स्थानीय आक्रोशित भएर तोडफोडको प्रयास समेत गरेको थियो । परासीको दमकल काम नलागेपछि बर्दघाटबाट दमकल बोलाईएको थियो ।

      दमकल आउन ढिला भएर सरसामान जलेर नस्ट भैसकेपछि बर्दघाट नगरपालिकाबाट आएको दमकललाई पनि स्थानीयले तोडफोड गरेका थिए । करिब आगो नियन्त्रणमा आईसकेपछि दमकल आएको भन्दै तोडफोड गर्दा बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछानेलाई सामान्य चोट लागेको छ ।

        कमेन्टहरु