देश

    लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | बिहान ११:११ बजे

      काठमाडौं, फागुन ३ । लेखक तथा साहित्यकार डा.तारानाथ शर्माको निधन भएको छ । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लागि चर्चित शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो ।

      उनी १९९१ असार ९ गते निर्जला एकादशीको दिन इलामको बरबोटेमा जन्मिएका थिए । उनका निकटका ज्योतिष राजकुमार सुवेदीका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ । लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । पारिवारिक सदस्यका अनुसार उनी बेला-बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए ।

      एम. ए (अङ्ग्रेजी साहित्य), पी. एच. डी.(भाषा विज्ञान) गरेका उनले मदन पुरस्कार, साझा पुरस्कारबाट सम्मान समेत पाएका थिए । ‘बेलाईततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । शर्माले ‘सम र समका कृति’का लागि २०२९ सालमा साझा पुरस्कार पाए । २०२३ सालमा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार पाउन सफल भएका थिए ।

      शर्माको पहिलो सिर्जना निबन्ध हो, जुन २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो । खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाले ।‘हिमध्वनि’ भन्ने पत्रिकाको सम्पादन गरे । उनको प्रकाशितमध्ये अन्तिम कृति ‘चरी भरर’ निबन्ध सङ्ग्रह हो ।

        कमेन्टहरु