तेह्रथुमको सदरमुकाम म्याङलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट


तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । म्याङलुङ नगरपालिका-१ केउरेनीका शिवकुमार पाङगेन्हाङ लिम्बुको घरमा बिहान करिब ५:२० तिर अचानक आगलागी भएर घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।
आगोले घरमा डेरा बसेका म्याङलुङ नगरपालिका–१ का अर्जुन अधिकारीको भाडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगो नियन्त्रणको क्रममा अर्को १ घरमा समेत क्षति भएको छ । आगलागीले मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।
स्थानीयबासी, नेपाली सेना र प्रहरीको प्रयासमा आगो करिब दुईघण्टा पछि मात्र नियन्त्रणमा लिन सफल भएको थियो । आगो निभाउनका लागी म्याङलुङ नगरपालिकाको दमकल समेत ढिला आएको र दमकल आएपनि दक्ष जनशक्ती अभावका कारण घर जोगाउन नसकिएको स्थानीयबासीको भनाइ छ ।
घरमा श्राद्ध रहेको र सेलरोटी पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको स्थानीयबासीले बताएका छन् । क्षतिको विवरण संकलन कार्य जारी रहेकाले के कति क्षति भयो भन्ने एकिन नभएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए ।





