सर्लाहीमा आगोले जलेर एक वृद्धको मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | बिहान ११:११ बजे

सर्लाही, फागुन २ । सर्लाहीको शंकरपुरमा आगोमा जलेर एक वृद्धको ज्यान गएको छ । जिल्लाको बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर मृत्यु भएको हो ।
सोमबार बिहान दुई बजेतिर शाहलाई आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । तत्कालै आगो निभाए पनि साहलाई बचाउन नसकेको स्थानीयको भनाई छ । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए ।
साह परिवारका अन्य सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।





