देश

    मोरङमा चिर्पट प्रहार गरी ७० वर्षीया आमाको हत्या

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | बिहान ०९:११ बजे

      विराटनगर, फागुन २ । मोरङको उर्लाबारीमा चिर्पट दाउराले प्रहार गरी एक व्यक्तिले वृद्धा आमाको हत्या गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी नगरपालिका–४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीले घरायसी विवादका क्रममा चिर्पटले प्रहार गरेर ७० वर्षीया आमा चन्द्रमाया भण्डारीको हत्या गरेका हुन् ।

      हत्यामा संलग्न भण्डारीलाई आइतबार राति इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो । छोराले दिउँसो ४:३५ बजेतिर चिर्पट प्रहार गर्दा आमा गम्भीर घाइते भएका थिए । डीएसपी श्रेष्ठका अनुसार वृद्धाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राति १०:२५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो ।

      कस्तो खालको पारिवारिक विवाद हो भन्नेबारे खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने उनले बताए ।

        कमेन्टहरु