निर्माण सम्पन्न नहुँदै भत्कियो अस्पतालको पर्खाल


दिपेश श्रेष्ठ
खोटाङ । जिल्ला अस्पताल खोटाङको स्तरोन्नतिका क्रममा निमार्ण सुरु गरिएको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको छ । जिल्ला अस्पतालमा स्तरोन्नति गर्न निर्माणाधिन भवनको वाल १५ शैयाबाट बढाएर ५० शैया बनाउनका लागि आवश्यक भवनको निर्माण क्रममा शुरु गरिएको पर्खाल भत्किएपछि लथालिङ्ग भएको छ ।
२०४९ साल देखी १५ शैयाको अस्पतालबाट सेवा दिँदै आएको जिल्ला अस्पताललाई ५० शैया स्तरोन्नती गर्न अहिले पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न ठेक्का लिएको श्यामसुन्दर-रामसागर -नेपाल फुलबारी जेवि निर्माण कम्पनिका लापरबाही कारण पर्खाल पुरा नभई भत्किएको छ । पर्खाल भत्किएपछि बिरामी राख्ने कक्ष पनि जोखिममा परेको छ ।
नयाँ भवन निर्माण नहुँदा सम्म अस्पतालको सेवा निरन्तर दिई अस्थाई भवन बनाएको बिरामी कक्षको भवनको पर्खाल भत्किए पछि भवन नै जोखिम परेको छ । नयाँ भवन निर्माणका लागि २१ करोड बजेट ठेक्का सम्झौता भएको थियो । गत असारमा भएको सम्झौताअनुसार साढे दुई बर्ष भित्र निर्माण सम्पन्न गनुपर्ने छ ।
नयाँ निर्माणाधीन भवन चार तले आरसिसि पक्की भवनको काम सुरु गरिएको छ । तल्लो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स रे कक्ष, सेक्युरिटरी कक्ष लगायतका संरचना निमार्ण गर्ने योजना रहेको छ । गुणस्तरहीन काम गर्दा वाल बनाएकै पश्चिमपट्टि लगाएको पर्खाल सम्पन्न नहुदै भत्किएको छ ।
अस्पतालमा सामुदाय सेवा समेत भरपर्दो नहुँदा धेरै बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्य छ । जिल्ला अस्पताल खाेटाङका व्यवस्थापन प्रमुख तथा जिल्ला समन्वय समिति खाेटाङका प्रमुख समेत रहेका बबि चाम्लिङले उक्त निर्माण कम्पनिलाई गुणस्तरिय काम गर्न निर्देशन दिईएकाे बताएका छन् ।





