चितवनमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाईते

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | बिहान ११:११ बजे

भरतपुर । चितवनको राप्ती नगरपालिका–६, हर्दी चोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
टाँडीबाट भण्डारातर्फ जाँदै गरेको ना६०प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना९प ९६६२ नम्बरको मोटरसाइकल शनिबार बेलुका करिब ७ बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकलाई उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा पठाइएको थियो ।उपचारका क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–७ का ४५ वर्षीय कमल चौधरीको राति ९ बजे मृत्यु भएको हो ।
अर्का मोटरसाइकल चालक राप्ती नगरपालिका–६ का २९ वर्षीय सन्तोष भण्डारीको अवस्था भने मध्यम रहेको अस्पतालले जनाएको छ । भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।





